Pradeep

Pradeep
म अनि मेरा दुई कृतीहरु; "सिरेटो शिशिरको" तथा "डाँडामा जून छ" । ।

Wednesday 27 April 2011

गजल: अबला नारी

घाँस दाउरा नै उनको जोहो न वारी न पारी साथी,
कसो गरी जिउँछिन् होली अबला ति नारी साथी ।।

कती ठेस लागे होलान् कती चोट गाँठो पारी,
थाके होलान् घोच्दाघोच्दै काँडाका ति घारी साथी ।।

धेरै नापिन् बाटोघाटो कुँजिएको शरीर बोकी,
खुसी भन्नु दु:ख भन्नु त्यही खेत बारी साथी ।।

आफ्नो ईच्छा मारीमारी आदेश अर्को पूरा गर्छिन्,
त्यही थोत्रो चोली प्यारो कहाँ पाउनु सारी साथी ।।

हरे दैव ! किन यस्तो लिला तिम्रो उनी माथि,
देखी उनलाई आज फेरि मन यो भयो भारी साथी ।।


(गजल सङ्ग्रह "सिरेटो शिशिरको" बाट साभार गरिएको)



जानकारी: अनेसास न्यु साउथ वेल्स च्याप्टर, अष्ट्रेलिया गठन !!!

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को न्यु साउथ वेल्स च्याप्टर,अष्ट्रेलिया गठन भएको छ।अप्रिल २१ तारिख शुक्रबारका दिन सिड्नीको बरउड्मा भएको भेलाले सिड्नी तथा आसपासका क्षेत्रमा साहित्यिक गतिविधी, नेपाली साहित्यको विकास तथा यहाँ रहेका नेपाली भाषा संस्कृतीको क्षेत्रमा कार्यरत संघसंस्था सँग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ।साथै विभिन्न पुरस्कारहरुको स्थापनाका अतिरिक्त यहाँ रहेका साहित्यप्रेमी मनहरुलाई सदस्यता प्रदान गरि एउटै छानोमा समेट्ने निर्णय पनि भेलाले गरेको छ। भिमसेन सापकोटाको अध्यक्षतामा गठित समितीको उपाध्यक्षहरुमा कुमार गिरी तथा ॠषि आचार्य हुनुहुन्छ।त्यस्तै महासचिवमा सानु घिमिरे,सचिवमा प्रदिप चापागाईँ तथा कोषाध्यक्षमा संजिव पाण्डे निर्वाचित हुनुभएको छ।कार्यसमिती सदस्यहरुमा पदम काफ्ले,महेन्द्र पौडेल,अर्जुन थपालिया,अर्जुनमणी पौडेल,सुरजदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ भने १३ सदस्यिय रहने समितिको बाँकी दुई जना सदस्यहरुको निर्णय अर्को भेलाले गर्ने भएको छ।सन् १९९१ मा अमेरिकाको कोलोराडोमा स्थापना भएको यो सम्मानित संगठनको हाल अमेरिका,जापान,बेल्जियम,अष्ट्रेलिया,ईजरायल लगायत ३६ भन्दा बढी देशहरुमा शाखा सञ्चालित छन्।साथै कतिपय देशहरुका ठुला ठुला शहरहरुमा आ-आफ्नै च्याप्टरहरु सेमत सञ्चालित छन्।
हाल ज्ञानेन्द्र गदाल,अमेरिका केन्द्रिय अध्यक्ष रहनुभएको संस्थाको वरिष्ठ उपाध्यक्षमा कृष्ण बजगाईँ,बेल्जियम तथा महासचिवमा गीता खत्री,अमेरिका हुनुहुन्छ।क्षेत्रगत उपाध्यक्ष हरुमा जयालक्ष्मी राई,बेलायत (युरोप),पूनम क्षेत्री,जापान (एसिया),रन्जना उदास,दक्षिण अफ्रिका (ओसियाना/अफ्रिका) तथा अनन्त रिसाल,अमेरिका (उत्तर तथा ल्याटिन अमेरिका) रहनुभएको छ। त्यस्तै सचिवमा हरी मानन्धर,ईजरायल तथा कोषाध्यक्षमा  कृशु  क्षेत्री,म्यानमार हुनुहुन्छ।थुप्रै संघसंस्था,संचारमाध्यमहरु अनी अन्य सञ्जालहरुले अनेसास सँग कार्यगत सहकार्य गर्दै आएका छन्।अनेसास सम्बन्धी अन्य जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।।
                                        http://www.inls.org/

Tuesday 12 April 2011

म,बाल्यकाल र मेरो स्कूल ।।

जिवनको २५ औं वसन्त सित रमाईरहँदा म अझै पनि घरि घरि त्यही बाल्यकाल सम्झन्छु जून बेला म हिलाम्मे कपडा भिरेर स्कुल तिर दौडन्थेँ।अझ सुरु सुरुका दिनहरुमा त स्कुल शब्द सुन्दा नै बारीका कान्लाहरु तिर लुक्न जान्थेँ ताकि म पढ्न जान नपरोस्।छाना चुहिने अनि कर्सा देखी रसाउने भित्तो ले हाम्रो कक्षाकोठाहरु सानोतिनो दह नै हुन्थे।भिजेका सुकुलहरुमा बसेर पढ्दाको त्यो बाल्यकाल सम्झँदा लाग्छ कि म अहिले अर्कै जन्म बाँचिरहेछु।घडी आफ्नै रफ्तारमा घुमीरहन्थ्यो अनि म चाँही घर जाने स्कुले घन्टी कुरेर बस्थेँ।कती पटक त दौडँदा भर्‍याङ देखी लडेर घाऊ पनि लाग्थ्यो।नाङ्ले पसलको पुस्टकारी,बरफ देखी लिएर खान हुने र नहुने सबै चिज मा आँखाहरु पुगेकै हुन्थे।दिनहरु बित्दै गए अनी महिना वर्ष हुँदै एक अनी अर्को गर्दै परिक्षाहरु आए अनी गए।नतिजा आउने दिन बार्दलीमा बसेका शिक्षकको हरुको ताँती किन हो किन डरलाग्दो देखिन्थ्यो।कालो न निलो अनुहार अनी थरथर काँपेको शरीर बिच प्रथम भएको भनेर सुन्दा सारा संसार नै जिते जसरी घोडाको वेगले घरतिर दौडन्थेँ।पुरस्कार स्वरूप पाएको कापी कलम कती बाटैमा खस्थे त कती कता तिर अल्झेर घरसम्म आईपुग्थे।कक्षा ५ देखी माथी वार्षिक अनी अर्धवार्षिक परिक्षाहरुमा प्रथम,दोस्रा र तेस्रा हुने छात्रछात्रा लाई प्रोत्साहन स्वरूप प्रदान गरिने "गाउँ स्कूल कलेज छात्रवृती आयोजना" अन्तर्गत पाईने नगद पुरस्कार अनी प्रमाणपत्र को लागी पनि मेहेनत जारी रहन्थ्यो।स्कुले जीवनको अधिकांश नतिजाहरुमा 'स्कूल प्रथम' स्वरूप प्रदान गरिने छुट्टै प्रमाणपत्र अनी नगद राशी लिन मञ्च मा जाँदा गर्वले मन प्रफुल्ल हुन्थ्यो।बुवा अनी आमाको खुसीको त कुरै नगरौं।डा. शुद्द एस. रौनियारको संयोजकत्वमा विभिन्न दाताहरुको सहयोगमा प्रदान गरिने त्यो पुरस्कार योजना आफैँमा अनुकरणिय थियो।यी र यस्तै समयको खुड्किलाहरु पार गर्दै एस.एल.सी. सम्मको अध्ययनमा बिताएको त्यो हरेक पल मेरो जिवनको एउटा स्वर्णिम कालखण्ड थियो जस्को महत्व जिवन जिउँदै गएपछी बुझिँदोरहेछ।अझ रमाईलो प्रसंग त एस.एल.सी. परिक्षाको नतिजा आउँदाको थियो।तत्कालिन समयमा फेरिएको नयाँ पाठ्यक्रम अनुसार परिक्षा दिने म सहित ११ जना साथी हरु थियौं।नतिजा आयो र गोरखापत्रको एउटा कुनामा प्रथम श्रेणीको हरफ तिर मेरो 'सिम्बोल नम्बर' अड्किएको थियो र उत्तिर्ण हुने म एकजना मात्र थिएँ।उच्च शिक्षाको क्रममा पोखरा,काठमाण्डौं हुँदै आज सात समुन्द्र पारीको यो भुगोल सम्म आईपुग्दा लाग्छ,मैले ति सबै सम्झनाहरु धेरै पर छोडेर आईसकेको छु जहाँ अब म कहिल्यै पुग्न सक्दिन।
र अन्तमा एउटा वाचा गर्दछु कि केही वर्ष भित्रै श्री कृष्ण मा. वी. बाट एस एल सी परिक्षामा उच्च अंक ल्याउने छात्र /छात्रालाई "दिपज्योती छात्रवृती आयोजना" नामक अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउने छु।
श्री कृष्ण मा. वी., तिमीलाई दूर दूर देखीको एउटा पराई बस्ती देखी लाख लाख सम्झना।।


प्रदीप चापागाईं
स्नातक (सिभील इन्जिनियरीङ)
युनिभर्सीटी अफ टेक्नोलोजी,सिड्नी,अष्ट्रेलिया

(पुनश्च : यो रचना २०६७ चैत्र १ गते स्वर्ण जयन्ती मनाउन लागेको मेरो स्कूलको प्रकाशोन्मुख स्मारिका को लागि  मैले लेखेको लेख हो ।)

कविता: मसानघाट सेरोफेरो ।।

एक हुल चराहरु
तारेभिरको उचाई छिचोल्दै
बर्खे बतासको वेगसित
ओरालो लाग्दा
धुम्म आकाशमा
जोरी खेल्ने गिद्दहरु
झम्टन खोज्छन्
तर निर्भिक चराहरु
 बादलको बाटो बढार्दै
बेँसी झरेकै हुन्छन्
किनकी
गाउँले मझेरी पुगेर
सुन्नु छ उनिहरुलाई
कसैको मृत्‍युको खबर ।।

यो युगौं युगको कथा हो
यहाँ मान्छे मरिरहन्छन्
र चराहरु दौडिरहन्छन्
कयौँ रुन्छन्
कयौँ हाँस्छन्
उता एकलासमा
मसानघाट पर्खिरहन्छ
उ सधैं नै पर्खन्छ 
घाममा/पानीमा
आँधीमा/हुरीमा
बेलाबखत मलामी आउँछन्
र झस्काउँछन्
दुई तीन घण्टे कर्मकान्ड सकिन्छ
अनि मसानघाट
बिचरा फेरि एक्लै हुन्छ ।।

सुसाएको खोला
अँगार ओढेका बकुल्लाको बथान
ठुटे बाँसहरु
लेउ भिरेका ढुंगाको जमात
साथ दिन खोज्छन्
तर कसैको परवाह गर्दैन मसानघाट
किनकी ति सबै स्वार्थी हुन्छन्
त्यसैले उ एक्लै रमाउँछ
फगत उस्को सानो आँगनमा
मलामी नाटक मन्चित नभए
किनकी 
कसैको विधी पूरा गर्न
उ हरेकचोटि डढ्नुपर्छ ।।

यहाँ मर्ने मार्ने खेल चलिरहन्छ
सबै त्यहीँ पुग्छन्
खरानी हुन्छन्
उड्छन्
सकिन्छन्
पुस्ताहरु फेरिन्छन्
अनि युगहरुले
एक अर्को गर्दै
काँचुली फेर्छन्
तर मसानघाट
अडिग रहन्छ
अटल रहन्छ
र त सधैं अमर रहन्छ
त्यसैले त यहाँ 
मान्छेहरु मर्छन्
मसानघाट कहिल्यै मर्दैन ।।

कविता: यस्तै छ काठमाडौं ।।

सखारै उदाउने
नगरकोटे सुर्यले
हरेक दैलो झिल्मिल्याउँछ
हाम्रो राजधानीको
यहाँ पात्रोहरु पल्टन्छन्
दिन,महिना अनि वर्ष गर्दै
तर परिवेश, एउटै रहन्छ
त्यही रोएको वागमती
कुँजिएको रानीपोखरी
जेलिएको रत्नपार्क
अनि,पोसिएको सिंहदरबार
वश यस्तै छ साथी
तिम्रो मेरो उसको
यो हाम्रो काठमाडौं  । ।

सडकपेटीको निद्रापछी
झुत्रे आङका
भरियाहरुको ताँतीसँगै
उठ्छ कालीमाटी
भारी भिर्ने
ति मलिन अनुहारमा
म रामेछापका पिडा देख्छु
दोलखाका व्यथा नियाल्छु
पसिनाको लर्को उछिन्दै
आँसु चुहिन्छ
म नि:शब्द हुन्छु
अनि, छेवै बाट
ए. सी. को हावा लेप्दै
सरकारी पजेरो कुद्छ
समानका नारा, कागजमै  थन्किन्छन्
खै,ठुलाको कि सानाको
विचित्र पानाको
अजिव छ काठमाडौं ।।

यहाँ दिनदिनै
ओहोदाको प्रमाणपत्र बुझिन्छ
जलपान हुन्छ
रात्रीभोज चल्छ
कुना ढुक्ने
भरौटेहरुको खल्ती
पेश्कीले भरिन्छन्
रेडियो र टि. भी.ले 
यस्तो र उस्तो फुक्छन्
अनि बालुवाटार
महलमा बसेर
जनताका दिमागमा
बालुवाकै घर बनाउँछ
बालुवाकै पुल बनाउँछ
सरकारी खर्च भन्दै
राष्ट्र बैंक लुटिन्छ
महंगो कथाहरु बोक्छ
तैपनि, नाथे
सस्तो छ काठमाडौं ।।

रुकुमका आँखाहरु 
यतै अडिन्छन्
जनकपुरे कानहरु
यतै तेर्सिन्छन्
मनाङका बस्तीहरु
सपना देख्छन्
तर काठमाडौं
न कतै हेर्छ
न कतै सुन्छ
मिठो मिठो बोल्छ
यही चलन
चलेकै छ
देश जलनले
जलेकै छ
हिजो नि उस्तै थ्यो
आज उस्तै छ
भोली उस्तै हुन्छ
घण्टाघरे घडी घुमिरहन्छ
के गर्छौ साथी
यस्तै छ काठमाडौं ।।

गजल: जीवन मिठो छ ।।

गंगाको चोखो जल मिठो छ,
दु:ख त गर फल मिठो छ !!

बाधा त होलान् पाईलापिच्छे,
आँटेर हिँड हल मिठो छ !!

मिलेर गरे के पो त हुन्न,
एकताको त्यो बल मिठो छ !!

फोहोर मोहोर सुन्यौ त होला,
गरे त त्यहि ढल मिठो छ !!

अमुल्य जिवन हाँसेर बाँच,
हरेक प्रहर पल मिठो छ !!

गंगाको चोखो जल मिठो छ,
दु:ख त गर फल मिठो छ !!

(मेरो दोस्रो कृति प्रकाशोन्मुख गजल सङ्ग्रह "डाँडामा जून छ" बाट साभार गरिएको )