Pradeep

Pradeep
म अनि मेरा दुई कृतीहरु; "सिरेटो शिशिरको" तथा "डाँडामा जून छ" । ।

Monday 26 September 2011

तिमी अनि कविता । ।


तिमी ठुस्किन्छौ
कविता अर्थहिन बन्छ 

मेरा साथीहरुले
आ-आफ्नै प्रेमी प्रेमीकाहरुलाई
फूल सित तौलिए
कसैले गुलाब भने
कसैले सुनाखरी भने
फगत त्यो फूल
जो भमरासितै थाकेको छ
अब तिमीसित तौलिएर
म अर्को बोझ किन दिउँ
त्यसैले तिम्लाई कविता भनेँ
जुन आफ्नो हो
मेरो आफ्नो । ।

तिमी मुस्कुराउँछौ
कविता नदी झैं बग्दछ । ।


तिम्रा साथीहरुले
आ-आफ्नै जिवन सारथीहरुलाई
जून सित तौलिए
कसैले चन्द्रमुखी भने
कसैले चाँदनी भने
फगत त्यो जून
जो अरुको उज्यालोले
रातभरी भ्रम छर्छ
अब तिमीसित तौलिएर
म अर्को दाग किन थपुँ
त्यसैले तिमीलाई कविता भनेँ
जुन आफ्नो हो
मेरो आफ्नो । । 

तिमी रिसाएको क्षण
कविता बाङ्गोटिंगो हुन्छ
मात्र शब्द थुपारेजस्तो
तिम्रो खुसीको क्षण
कविता आकाश झैं खुल्दछ
विम्ब विम्बहरु नाच्दछन्
त्यसैले तिमी हाँस
कविताका शब्द शब्दले
मुर्चुङ्गा ताल समाउँछन्
र म गुनगुनाउँछु
हेर त कति नजिक छन् मेरा लागि
तिमी अनि कविता । । 


- प्रदिप चापागाईँ
छैमले-३,काठमाडौं
हाल : सिड्नी,अष्ट्रेलिया 

Saturday 30 July 2011

गजल : जिवन । ।

शाश्वत सत्यको निदान भए त,
मर्नु र बाँच्नुको किटान भए त । ।

को हाँस्ला यसरी दिनहुँ रमाई,
जगेडा तयारी चिहान भए त । ।

म फूल सिउरी निदाउँथे किन,
काँडाकै आखिर सिरान भए त । ।

हर मंसिरमा सुन किन फल्थ्यो, 
व्यर्थको बेकाम किसान भए त । ।

यो खुसी जिवन के देख्थ्यौ तिम्ले,
'प्रदिप' को जाली ईमान भए त । ।

शाश्वत सत्यको निदान भए त,
मर्नु र बाँच्नुको किटान भए त । ।

Wednesday 25 May 2011

गजल : जमाना बोल्नेको छ । ।

तोडिदेउ मौनता त्यो जमाना बोल्नेको छ,
क्षितीज पारी सम्म सिमाना बोल्नेको छ । ।

दृश्य यी यस्तै नै हुन् रंग जो बदलिने,
हेरेरै हुन्न केही निशाना बोल्नेको छ । ।

नाता र गोता अनि छिमेक भनी बस्छौ,
स्वार्थी हुन् छाडिदेउ खजाना बोल्नेको छ । ।

समय सखाप होला दुई हात फैलाएर,
पिठो जो बिक्ने यहाँ किराना बोल्नेको छ । ।

पलाउला अग्राख भनी रात त्यो कुर्न छोड,
सुसंगत गर्छौ भने ठेगाना बोल्नेको छ । ।

Sunday 8 May 2011

नयाँ युग,इन्जिनियरिङ्ग शिक्षा र महत्व


युगौं युगदेखी चल्दै आएको मानव सभ्यता ढुंगे युग हुँदै आजको यो अत्याधुनिक कालखण्ड सम्म आईपुगेको छ।प्राणीहरु मध्यको सर्वश्रेष्ठ मानिएको मानव जगतले यो अवधीमा थुप्रै प्रगती,आविस्कार अनी सफलताको सुचक मानिने विभिन्न परिणामहरुको स्पर्श गरिसकेको छ।त्यसो त मानव जातीकै कारणले यहाँ नरसंहार अनी विध्वंस देखी लिएर विभिन्न प्राकृतिक दुर्घटनाहरु सेमत नभएका भने होईनन्।तर समष्टिगत रूपमा हेर्ने हो भने सधैं नयाँ कुरा जान्न अनी गर्न खोज्ने मानव अभिलाषाको फलस्वरूप आज संसारभरिका अरबौं अरब मानिसहरुले अकल्पनिय प्राय सम्म का सरसुविधाहरुको भोग गरिरहेका छन्।जीवन जिउने शैलीलाई उपलब्ध स्रोत र साधनसँगको सामञ्जस्यताको ख्याल  गर्दै अझ सहज ढंगले गतिशिलता प्रदान गर्न आज पनि मानव जगत नयाँ आविस्कार अनि नयाँ सोचको प्रतिपादन तिर केन्द्रित छ।त्यसैले त विकसित मुलुकहरु 'खोज तथा अनुसन्धान' का लागि लाखौं लाख डलर खर्च गरिरहेका छन्।इन्जिनियरिङ्ग शिक्षा अनि नयाँ विश्व एक अर्काका परिपुरक हुन्।आज सम्म सम्भव भएका जे जती पनि कुराहरुको पृष्‍ठभुमी हेर्ने हो भने अधिकांश विकासका संरचनाहरु 'इन्जिनियरिङ्ग शिक्षा' कै देन हो भन्दा अत्युक्ती नहोला।त्यसैले मानव जीवन अनि इन्जिनियरिङ्ग क्षेत्रको सम्बन्ध नङ र मासुको हो भन्ने कुरामा दुईमत नहोला।इन्जिनियरिङ्ग क्षेत्रको पनि विभिन्न आ-आफ्नै हाँगाहरु हुन्छन्।सिभिल,इलेक्ट्रिकल,इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन,मेकानिकल,कम्प्युटर,आई.टी.,केमिकल,अटोमोबाईल,टेक्स्टाईल,बायोमेडिकल,आर्कीटेक्चर,एरोनोटिकल का साथै अन्य थुप्रै संकायहरुमा इन्जिनियरिङ्ग अध्ययन अध्यापन हुने गर्दछ।हामी बस्ने घर,हिँड्ने बाटो,खाने खाना देखी लिएर मनोरञ्जनका लागि बनाईएको टेलिभिजन तथा रेडियो अनि उड्ने अनी तैरिने जहाज सम्म मा इन्जिनियरिङ्गका सिद्दान्त हरु लागु भएका हुन्छन्।ति सम्पूर्ण कुराहरुको संवेदनशिलतालाई मात्र हेर्ने हो भने पनि इन्जिनियरिङ्ग शिक्षा आफैंमा कति महत्वपूर्ण छ भन्ने कुराको सहजै अनुमान लगाउन सकिन्छ।त्यसैले त विश्वका लगभग सबै देशहरुले प्राविधिक क्षेत्रका लागि निकै ठुलो लगानी गरिरहेका छन्।आजकालका ताजा समाचारहरुमा हामी अष्ट्रेलियाको बाढी,न्युजिल्यान्डको भुकम्प अनि जापानको सुनामी र त्यसले पारेको जनधनको क्षती र त्यसको दिर्घकालिन प्रभावका बारेमा पढ्न अनी देख्न सक्छौं।ति सम्पूर्ण कुराहरुको न्युनिकरण तथा सम्भव भएसम्मका समाधानका उपायहरुको अवलम्बनका हिसाबले पनि इन्जिनियरिङ्ग शिक्षा अपरिहार्य छ।यो शिक्षा एउटा सदाबहार ज्ञानकुन्ज हो जसको प्रयोग संसारका जुनसुकै कुनामा जस्तोसुकै  अवस्थामा पनि गर्न सकिन्छ।हाम्रा रुकुम रोल्पाका डाँडापाखा देखी लिएर युरोप अमेरिकाका सम्पन्न भुगोलहरुमा पनि नविनतम प्रविधीको प्रयोग सदैव सुहाउँदो नै हुन्छ।
अष्ट्रेलियाको सन्दर्भमा कुरा गर्ने हो भने यहाँका सबै विश्वविद्यालयमा इन्जिनियरिङ्गको पढाई हुँदैन ।केहि प्रतिष्ठित विश्वविद्यालयले मात्र यसको अध्ययन अध्यापनका अलावा यो क्षेत्रमा थुप्रै खोज तथा अनुसन्धान गरिरहेका छन् ।दु:खको कुरा यो क्षेत्रमा अध्ययन गर्ने नेपाली बिद्यार्थी को संख्या निकै कम छ ।महंगो शिक्षण शुल्क अनि यो क्षेत्रका लागि खट्नु पर्ने समयाभाव यसको प्रमुख कारकतत्व हो ।यती हुँदाहुँदै पनि थोरै संख्यामा भएपनी स्नातक,स्नातोकत्तर तथा बिद्यावारीधी तहसम्ममा पनि केही नेपालीहरु भेटिनु निकै सुखद कुरा हो । तर कुरा जे सुकै भएपनी नयाँ विश्व अनि नयाँ सोचको अवधारणामा अघी बढिरहेको यो युगमा इन्जिनियरिङ्ग शिक्षा नयाँ पिँढीलाई नयाँ भविश्य प्रदान गर्नका लागि एउटा अभिन्न क्षेत्र हो जसको महत्व दिनानुदिन बढिनैरहनेछ ।

Tuesday 3 May 2011

कविता: सिड्नी सपनाहरु ।।

आजकल
गोधुली साँझहरुका
बाँसुरी धुनसित
न्याउली भाका मिसाएर
शून्य प्रहर
लुकामारी खेल्छ
चरी गुँड फर्कन्छे
किसान हलो थन्क्याउँछ
अनि म
आफ्नै मनसँग
साउती मार्छु
र कोठे मुटुको
रंगिन क्यान्भासमा
रंग थप्छु
क्षितिज घाम लुकाउँछ
जून कोरीबाटी गर्छे
अनि म सजाउँछु
सिड्नी सपनाहरु ।।

यता म सित
कल्पना तालमा
डुबुल्की मार्ने
माछापुच्छ्रे छैन
न त हिउँचुली छ
न त पिपलपाते 
हावा छर्कने
देउराली छ
म घर टाढा राखेर
दुबो उब्जाउँछु
रहरै रहरको
आशाका त्यान्द्राहरु
थुप्रिन्छन्
कुनिउँ बन्छन्
र आजकाल
यिनै गोरेटोमा
डोराउँछु
सिड्नी सपनाहरु ।।

यता सायदै
सेती रसाउला
मन खेतहरु सिँच्न 
तर झुल्के वर्षामा
बाली लगाउँछु
अभिलाषाको
सिरुपाते मकै
लर्केबाला धान
आकांक्षै आकांक्षाको
र आजकल
छ्ड्के रूखमा 
कोईली आउँछ
जिस्काउँछ
हाम्रो गाउँले
मेलापातका
कथा सुनाउँछ
सुनिरहन्छु
मनको लोटा बजारिन्छ
जलप हाल्छु
अनी फेरि
मालाको रहरमा
उन्न थाल्छु
सिड्नी सपनाहरु ।।

म टाढा पुग्नु छ
लामो बाटोमा
गल्ली छन्
खोल्साहरु छन्
काँडा तेर्सिन्छन्
कति बिझ्छन्
रगत पुछेर
अघि बढ्छु
यता मलमपट्टी गर्ने
आमाको हात छैन
छ त आशिर्वाद
कोखे मायाको
टिलपिल आँखाका
खहरे डिलहरु
झस्काउँछन्
अनि
घिसारीरहन्छु
म मेरा यी
सिड्नी सपनाहरुलाई ।।

प्रदिप चापागाईँ
छैमले-३,काठमाडौं
हाल : सिड्नी, अष्ट्रेलिया


Wednesday 27 April 2011

गजल: अबला नारी

घाँस दाउरा नै उनको जोहो न वारी न पारी साथी,
कसो गरी जिउँछिन् होली अबला ति नारी साथी ।।

कती ठेस लागे होलान् कती चोट गाँठो पारी,
थाके होलान् घोच्दाघोच्दै काँडाका ति घारी साथी ।।

धेरै नापिन् बाटोघाटो कुँजिएको शरीर बोकी,
खुसी भन्नु दु:ख भन्नु त्यही खेत बारी साथी ।।

आफ्नो ईच्छा मारीमारी आदेश अर्को पूरा गर्छिन्,
त्यही थोत्रो चोली प्यारो कहाँ पाउनु सारी साथी ।।

हरे दैव ! किन यस्तो लिला तिम्रो उनी माथि,
देखी उनलाई आज फेरि मन यो भयो भारी साथी ।।


(गजल सङ्ग्रह "सिरेटो शिशिरको" बाट साभार गरिएको)



जानकारी: अनेसास न्यु साउथ वेल्स च्याप्टर, अष्ट्रेलिया गठन !!!

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को न्यु साउथ वेल्स च्याप्टर,अष्ट्रेलिया गठन भएको छ।अप्रिल २१ तारिख शुक्रबारका दिन सिड्नीको बरउड्मा भएको भेलाले सिड्नी तथा आसपासका क्षेत्रमा साहित्यिक गतिविधी, नेपाली साहित्यको विकास तथा यहाँ रहेका नेपाली भाषा संस्कृतीको क्षेत्रमा कार्यरत संघसंस्था सँग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ।साथै विभिन्न पुरस्कारहरुको स्थापनाका अतिरिक्त यहाँ रहेका साहित्यप्रेमी मनहरुलाई सदस्यता प्रदान गरि एउटै छानोमा समेट्ने निर्णय पनि भेलाले गरेको छ। भिमसेन सापकोटाको अध्यक्षतामा गठित समितीको उपाध्यक्षहरुमा कुमार गिरी तथा ॠषि आचार्य हुनुहुन्छ।त्यस्तै महासचिवमा सानु घिमिरे,सचिवमा प्रदिप चापागाईँ तथा कोषाध्यक्षमा संजिव पाण्डे निर्वाचित हुनुभएको छ।कार्यसमिती सदस्यहरुमा पदम काफ्ले,महेन्द्र पौडेल,अर्जुन थपालिया,अर्जुनमणी पौडेल,सुरजदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ भने १३ सदस्यिय रहने समितिको बाँकी दुई जना सदस्यहरुको निर्णय अर्को भेलाले गर्ने भएको छ।सन् १९९१ मा अमेरिकाको कोलोराडोमा स्थापना भएको यो सम्मानित संगठनको हाल अमेरिका,जापान,बेल्जियम,अष्ट्रेलिया,ईजरायल लगायत ३६ भन्दा बढी देशहरुमा शाखा सञ्चालित छन्।साथै कतिपय देशहरुका ठुला ठुला शहरहरुमा आ-आफ्नै च्याप्टरहरु सेमत सञ्चालित छन्।
हाल ज्ञानेन्द्र गदाल,अमेरिका केन्द्रिय अध्यक्ष रहनुभएको संस्थाको वरिष्ठ उपाध्यक्षमा कृष्ण बजगाईँ,बेल्जियम तथा महासचिवमा गीता खत्री,अमेरिका हुनुहुन्छ।क्षेत्रगत उपाध्यक्ष हरुमा जयालक्ष्मी राई,बेलायत (युरोप),पूनम क्षेत्री,जापान (एसिया),रन्जना उदास,दक्षिण अफ्रिका (ओसियाना/अफ्रिका) तथा अनन्त रिसाल,अमेरिका (उत्तर तथा ल्याटिन अमेरिका) रहनुभएको छ। त्यस्तै सचिवमा हरी मानन्धर,ईजरायल तथा कोषाध्यक्षमा  कृशु  क्षेत्री,म्यानमार हुनुहुन्छ।थुप्रै संघसंस्था,संचारमाध्यमहरु अनी अन्य सञ्जालहरुले अनेसास सँग कार्यगत सहकार्य गर्दै आएका छन्।अनेसास सम्बन्धी अन्य जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुहोला ।।
                                        http://www.inls.org/