Pradeep

Pradeep
म अनि मेरा दुई कृतीहरु; "सिरेटो शिशिरको" तथा "डाँडामा जून छ" । ।

Monday 26 September 2011

तिमी अनि कविता । ।


तिमी ठुस्किन्छौ
कविता अर्थहिन बन्छ 

मेरा साथीहरुले
आ-आफ्नै प्रेमी प्रेमीकाहरुलाई
फूल सित तौलिए
कसैले गुलाब भने
कसैले सुनाखरी भने
फगत त्यो फूल
जो भमरासितै थाकेको छ
अब तिमीसित तौलिएर
म अर्को बोझ किन दिउँ
त्यसैले तिम्लाई कविता भनेँ
जुन आफ्नो हो
मेरो आफ्नो । ।

तिमी मुस्कुराउँछौ
कविता नदी झैं बग्दछ । ।


तिम्रा साथीहरुले
आ-आफ्नै जिवन सारथीहरुलाई
जून सित तौलिए
कसैले चन्द्रमुखी भने
कसैले चाँदनी भने
फगत त्यो जून
जो अरुको उज्यालोले
रातभरी भ्रम छर्छ
अब तिमीसित तौलिएर
म अर्को दाग किन थपुँ
त्यसैले तिमीलाई कविता भनेँ
जुन आफ्नो हो
मेरो आफ्नो । । 

तिमी रिसाएको क्षण
कविता बाङ्गोटिंगो हुन्छ
मात्र शब्द थुपारेजस्तो
तिम्रो खुसीको क्षण
कविता आकाश झैं खुल्दछ
विम्ब विम्बहरु नाच्दछन्
त्यसैले तिमी हाँस
कविताका शब्द शब्दले
मुर्चुङ्गा ताल समाउँछन्
र म गुनगुनाउँछु
हेर त कति नजिक छन् मेरा लागि
तिमी अनि कविता । । 


- प्रदिप चापागाईँ
छैमले-३,काठमाडौं
हाल : सिड्नी,अष्ट्रेलिया 

No comments:

Post a Comment